किरात पुमा राईहरुको जीवन संस्कार :
प्रवीण पुमा
१. किरात पुमा राई परिचय सारनेपालको पूर्वीपहाडी खोटाङ जिल्लाको दक्षिण भेगका चिसापानी दिब्लुङ मौवाबोटे पौवासेरा देविस्थान गा।वि।स। लगायत त्यस आसपासका गाउँहरुमा मुख्य बसोबास रहेका किरात पुमा राईहरुको आफ्नै पृथक भाषा संस्कार संस्कृति तथा अस्तित्व रहेको छ । किरात मुन्दुमअनुसार 'सुम्निमा-पारुहाङको सृष्टिकालमा सुम्निमा-पारुहाङको कोखबाट बाघ भालु र मान्छेको जन्म भयो । त्यस जन्मलाई सुम्निमाले पुमा सॄष्टि भनिन् ।' कालान्तरमा त्यहीं पुमाहरुको साखासन्तानलाई पुमा सृष्टि भन्दाभन्दै थर नै पुमा भएको हो ।
२०५८ सालको नेपाल सरकारको तर्फबाट गरिएको जनसंखया गणना र मातृभाषा बोल्नेको संख्या जेजति तथ्यांकमा भए तापनि पुमा राईहरुको वास्तविक जनसंख्या दस हजारभन्दा माथि रहेको छ र छ हजारभन्दा बढीले आपुनो भाषा बोल्ने गर्छन् । त्यस भाषालाई रोकुङला÷रोकोङला भनिन्छ । यस जातिका महिला सामेतलाई नाम्घुङमा र पुरुष सामेतलाई नाम्घुङपा भनिन्छ ।यसरी पुमा खोलामा बस्ने किरात पुमा राईहरुको दुई दाजुभाइ दिब्लुङ र पालुनको गरी मुख्य १४ पाछा रहेका छन् जुन यसप्रकारका छन्
१ थुम्राहोङ २ योङडोहोङ ३ होङटाङखा ४ दुमालुङ÷दुम्माईलुङ ५ लिम्माछित ६ गाराजा ७ हादीरा ८ मिथाहोङ ९ तोङमालुङ १० मेत्लङयङ ११ वाविहोङ १२ खावोङ १३ रिरीहोङ १४ हेनयोङछा ।
क जन्म संस्कार:
किरात पुमा राईहरुमा विवाहित महिलाको कोखबाट लामो समयसम्म पनि सन्तान लाभ नभएमा चुलामा पूर्खापूजा गरेर सन्तानको बाटो खुलाइदेऊ भनी बर मागिन्छ । त्यसका अलावा किरात ऐतिहासिक धार्मिक स्थलहरु जन्तेढुङ्गा भानुमति बराहक्षेत्र हलेसी महादेवस्थान एवं साल्पा पोखरी गई सन्तान मागिन्छ ।आमाको गर्भमा नवजात शिशु भएको बेला बच्चाको बाबुले काटमार गर्नु हुँदैन मान्छे मरेको ठाउँमा गए पनि ढुङ्गा बोक्नु हुँदैन यदि उक्त नियमलाई उल्लङ्घन गरेको खण्डमा आमाको गर्भमा नै बच्चा तुहिन्छ भन्ने जनविश्वास रहेको छ ।नवजात शिशु जन्मेपछि छोरा भए भालेले र छोरी भए पोथीले सुत्केरी आमा र बच्चालाई सुम्निदिमा बूढीबजु ले हकदाई सिर उठाई उक्त कुखुरा काटिन्छ र त्यस कुखुराको टाउको सिङ्गै पकाएर सुत्केरीलाई खान दिइन्छ ।
ख न्वारान:
किरात पुमा राईहरुको पहिलो संस्कार न्वारान हो । त्यसमा छोरा जन्मेको ६ दिनमा र छोरी जन्मेको ५ दिनमा नानीको नाम राख्ने र आमालाई सुत्केरीबाट चोख्याउने विधिलाई न्वारान भनिन्छ । न्वारानको दिन घरलाई लिपपोत गरी पधँराबाट ल्याइएको चोखो पानी दुबो मेरीखाङ विविसिमाको जरा अम्लिसोको जरा र तीतेपातीको मुण्टोले पानी छर्कदै घर चोख्याइन्छ । त्यसपछि छोरा भए बाबुको कट्टु र छोरी भए आमाको गुन्यू थाङ्नाको भोटो सिलाइ लुगा लगाइदिने चलन छ । त्यसैगरी साइत हेराएर बुनेको नयाँ कोक्रोमा नानी सुताउनुअघि सुम्निदिमाले कोक्रोमा छोरो भए भाले र छोरी भए पोथी काटेर भोगदिने चलन छ । त्यसपछि छोरी भए खुर्मी र छोरो भए कर्द कोक्रोको काम्रोमा सिउरिइन्छ र पहिलो पटक कुचो लगाएर बोकिन्छ । त्यसपछि नानीलाई सुताई बोकिन्छ । यसको अर्थ कोक्रोले नानीलाई कुनै दुःख नदियोस् भन्ने हो । त्यसदिन छोरा भए कान र छोरी भए कान र नाक छेंडिदिने र धागो बाटेर हातमा चुरा र खुट्टामा कल्ली लगाइदिने चलन छ । त्यसै दिन बच्चाको नाम आ-आफ्नै भाषामा राखिन्छ । ग पास्नीकिरात पुमा राईहरुको अर्को महत्वपूर्ण संस्कार हो पास्नी । पास्नीमा बच्चालाई पहिलोपल्ट भात खुवाइन्छ । छोराको ६ महिनामा र छोरीको ५ महिनामा राम्रो बार पारेर काँसको थालमा ढक्के पैसा र चामल राखी त्यसमा दियो बालिन्छ । एउटा थालमा दही चामल टीकाको लागि राखिन्छ । अर्को थालमा भात मासु दही जाँड रक्सी बटुकोमा राखिन्छ । त्यसपछि नयाँ लुगा र दियोलाई पूजा गरिन्छ । अनि बच्चालाई सुम्निदिमाले पहिलोचोटि नयाँ कपडा दौरा लगाइदिएपछि दिप्पा-दिमा सुम्नि बाजे-सुम्नि बज्यैले खाना खुवाउनुपर्दछ । त्यसपछि आमन्त्रित सबैले आशीर्वाद दिँदै टीका लगाई दिनुको साथै मावलीहरुले अनिवार्य रुपमा चाँदीको बाँही बाला र कल्ली लगाइदिनु पर्छ ।
घ छेवरः
किरात पुमा राईहरुको अर्को महत्वपूर्ण संस्कार छेवर हो । यस छेवरमा छोरालाई भए टोपी र छोरीलाई भए गुन्यूचोला पहिलोपटक दिइन्छ । यो नै उनीहरुको लागि महत्वपूर्ण संस्कार हो । यो संस्कार नगरी अन्य कुनै पनि संस्कार गरिँदैन । यदि यो संस्कार नगरी उनीहरुको मृत्यु भएमा ओढारमा लगेर राखिन्छ र जुठो वा दुःख पनि बारिँदैन ।
अ टोपी दिने :
किरात पुमा राईहरुको छोरा जन्मेको पाँच वर्षदेखि माथि खोलाटोलाअनुसार बच्चाको पहिलोपटक केश खौरी नयाँ टोपी दिने संस्कार नै छेवर हो । यसमा मावली वा जेठोपाकोको हातबाट केश काट्नु पर्दछ । केश भूइँमा नझरोस् भन्नाको लागि चेलीले टपरामा थाप्नुपर्छ र उक्त केश फूलबारीमा चोखो गरी राख्नुपर्छ । त्यसदिन नयाँ सिलाएको लुगा नाङ्लोमा राखी दहीचामल दियोको साथमा पूजा गर्दै आशीर्वाद दिँदै सो नयाँ लुगा बच्चालाई लगाइदिइन्छ ।
ङ गुन्यूचोली:
सामान्यतः छोरी जन्मेको पाँच वर्षदेखि माथि गुन्यूचोली पटुका बर्की पहिराइदिने नै गुन्यूचोली हो । यसदिन प्रथमपटक आमाबाबुले टीका लगाइदिएपछि अरुबाट टीका लगाई दक्षिणा दिने प्रचलन रहेको पाइन्छ ।टीकाको सम्पूर्ण कार्यक्रम समाप्त भएपछि त्यसको अन्त्यमा मामा-मावलीको शिर उठाउने भनी सुगुरको टाउको भुटेको मासु रक्सी जाँड र अचार आदिको कोसेली राखिदिने चलन रहेको छ । यसबापत मावलीहरुबाट जो सकेको दान दक्षिणा सहित आशीर्वाद दिन्छन् । उक्त कोसेलीहरुमध्ये पिउने चिजहरु केही भाग त्यही नै खाईपिई गरी मनोराजन गरिन्छ भने केही चाँहि मावलीहरु आफैले लिएर जान्छन् ...TO BE CONTINUE...
No comments:
Post a Comment